एमाले प्रति जनताको माया र विश्वास बढ्योः स्थायी कमिटी सदस्य थापा

म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले एमालेप्रति आम जनताको माया र विश्वास बढ्को बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा जारी गरेको वृद्धभत्ता बढाएको र सुत्केरी हुन नसकेका महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको जस्ता कामले जनताको विश्वास बढ्दै गएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएकी स्थायी कमिटी सदस्य थापाले नेकपा एमालेले गरेका जनमुखी र लोकप्रिय कामका कारणले विपक्षीहरु अत्ताल्लिएर देशी, विदेशी र विरोधी शक्तिले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो । उहाँले नेपाली जनताको माया र विश्वास एमालेलाई रहेकाले एमालेप्रति जनलहर बढ्दै गएको बताउँदै आगामी निर्वाचनबाट पुनः नेकपा एमालेले सरकारको नेतृत्व गर्ने दावी गर्नुभयो । पद लिने विषय ठूलो कुरा नभएकाले स–साना कमिटीमा बसेर जनताको मन जित्ने गरी काम गर्न उहाँले नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो ।

सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले नेकपा एमालेसँग कुनै पनि पार्टीको तुलना हुन नसक्ने बताउँदै एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेपछि कांग्रेस, माओवादी र अन्य दलहरुले गठबन्धन बनाएको आरोप लगाउनुभयो । उहाँले काम, नीति तथा कार्यक्रम र अन्य हिसाबले एमालेसँग कांंग्रेस र माओवादीको तुलना नहुने बताउँदै एमालेले हाइटेक प्रविधिको प्रयोग गरेर महाधिवेशनमा मतदान गरी तुरुन्तै मतपरिणाम सार्वजनिक गरेको भए पनि कांग्रेसको महाधिवेशनमा हिल ट्याङ्कमा मतदान गरेर रिजल्ट आउन हप्तौं दिन लगाएको आरोप समेत लगाउनुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा म्याग्दी जिल्लामा थुप्रै विकास निर्माणका कामहरु भएको बताउँदै जिल्लाको पर्यटकीय क्षेत्रमा पदमार्ग तथा झोलुङ्गे पुल निर्माण र सडकमा पक्की मोटरेबल पुल निर्माण भैरहेको बताउनुभयो । उहाँले म्याग्दीलाई हिमाली जिल्लाका रुपमा सुचीकृत गरिएको बताउँदै जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको विकास, संरक्षण तथा प्रवद्र्धनको काम भएको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नरदेवी पुनले आफू मन्त्री हुँदा म्याग्दी जिल्लामा थुप्रै बजेट र कार्यक्रम आएको भए पनि अहिलेको सरकारले छुट्याएको बजेट तथा कार्यक्रम पनि काटिदिएको आरोप लगाउनुभयो । उहाँले जनताको मन जित्ने गरी समुदायमा काम गरेर नेताका रुपमा स्थापित हुन नेता, कार्यकर्तालाई सुझाव दिनुभयो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताउँदै आउँदो चुनावबाट त्यो घेराबन्दीलाई तोडेर एमाले पुनः सत्तामा पुग्ने ठोकुवा गर्नुभयो । उहाँले एमाले जनताको पक्षमा काम गरेर स्थापित हुने पार्टी भएकाले विभिन्न जालझेलबाट सत्ता बाहिर बस्नुपरे पनि कुनै समस्या नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पुष्कर विक, एमाले जिल्ला सचिवालय सदस्य एवं अखिल नेपाल महिला संघ म्याग्दीका अध्यक्ष थमसरा पुन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल र नेकपा एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पदमलाल सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्रबहादुर केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व एमालेका नेता तथा कार्यकर्ताले नारा, जुलुस र बाजागाजाको ¥यालीसहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गरेका थिए । एमालेको नवौं जिल्ला अधिवेशनमा जिल्लाभरबाट कुल ५ सय १० जना प्रतिनिधिहरु रहेका छन् । नवौं अधिवेशनले एमालेको जिल्ला कमिटी २८ जना महिलासहित ९० सदस्यीय निर्वाचित गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार