ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु (तस्बिरहरु)

ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ स्थित ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल मगर संघ इकाई समिति ओखरबोटको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि उक्त भाषा प्रशिक्षण सुरु भएको हो । भाषा प्रशिक्षणको वडा अध्यक्ष दिलिपकुमार शेरचनले इकाई समितिको सभाहलमा एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।


कार्यक्रममा वडा अध्यक्ष शेरचनले इकाई समितिको नौलो सुरुवात गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । हराउँदै गएको भाषा जगेर्ना र संरक्षण गर्नुपर्नेमा वडा अध्यक्ष शेरचनले जोड दिनुभयो । प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भाषा संगै मगर समुदायको संस्कृति संरक्षणमा पनि जोड दिनुपर्ने बताउनुभयो । लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण र जगेर्ना गर्न युवा पुस्ताले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्य याम बहादुर पुन ,नेपाली कांग्रेस वडा इकाई सभापति तमबहादुर पुन ,नेकपा माओवादी केन्द्र वडा इकाई अध्यक्ष रेशम पुन ,इकाई समितिका सल्लाहकार नबिन पुन ,नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रेम बुढा मगर लोपोन्मुख भाषा जगेर्ना र संरक्षणका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले पुर्खाहरुले भाषा बोलेपनि पछि एकात्मक राज्य सत्ताका कारण भाषा हराउँदै गरेको उल्लेख गर्नुभयो । ठाउँ,नदी लगायतको नामाकरण मगर भाषाबाट भएको भएपनि मगर समुदायकै बेवास्ता र भाषा बारे ज्ञान नहुँदा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले मगर समुदायको भाषा र संस्कृती संरक्षणमा सरकारले बेवास्ता गरेको गुनासो पोख्नुभयो । भाषा प्रशिक्षक थमन थापा मगरले ढुट भाषा सम्बन्धी आधारभुत बिषयमा प्रशिक्षण दिइने बताउनुभयो ।

तीन महिना सम्म संचालन हुने भाषा प्रशिक्षणमा करिब ६० जना प्रशिक्षार्थीहरु सहभागि भएका छन् । आगामी वडाका सबै टोलमा मगर भाषा प्रशिक्षण कक्षा संचालन गरिने इकाई समितिका अध्यक्ष भुमिराज पुनले बताउनुभयो । मगर संघ इकाई समितिका सचिव तुलप्रसाद पुनले मगर भाषा जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले तीन महिने भाषा प्रशिक्षण सुरु भएको बताउनुभयो ।

उहाँले भाषा प्रशिक्षण कक्षा संचालनका लागि वडाले पचास हजार रुपैयाँ बजेट सहयोग गरेको बताउनुभयो । वडाको बजेट प्रयाप्त नहुने भएकोले थप बजेटको व्यवस्था गरिदिन गाउँपालिकालाईमागर गरिएको र गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले जानकारी दिनुभयो । इकाई समितिका अध्यक्ष पुनको अध्यक्षता र सचिव पुनको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार