कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठनका लागि शुक्रबार दिउँसो ३ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ। विधानअनुसारका निकायहरू गठन नगरी फेरि पनि कांग्रेस विधि र पद्धति बाहिरबाट सञ्चालन हुन लागेको भन्दै आलोचना सुरु भएका बेला केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि बैठक बोलाइएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठताका आधारमा कार्यसम्पादन समितिमा नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। सभापति देउवाले पूर्वपदाधिकारीसहित केही नेताको नाम कार्यसम्पादन समितिमा प्रस्ताव गर्ने जानकारी दिँदै स्रोतले भन्यो, ‘कार्यसम्पादन समितिले शुक्रबार नै पूर्णता भने पाउँदैन।’

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ। विधानले सभापतिलाई केन्द्रीय समितिका सदस्यमध्येबाट थप ३१ जनालाई कार्यसम्पादन समिति सदस्यमा मनोनीतका लागि प्रस्ताव गर्ने अधिकार दिएको छ। त्यो प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानको धारा २३ को २ मा छ।

महिनाको कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने व्यवस्था विधानमा छ। कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा काम गर्न सक्छ। कार्यसम्पादन समितिले गरेका कामलाई केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ। पार्टीका केन्द्रीय विभागहरूको कामको समीक्षा गर्ने व्यवस्था गर्दै विधानको २४ को ४ मा लेखिएको छ, ‘समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्तरूपमा विषयगत छलफलको आयोजना गर्नेछ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार