कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द

म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणका लागि शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले पनि बुधबारदेखि माघ १५ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका थिए । नगर प्रमुख हरिकुमार श्रेष्ठले प्रअहरुसँगको बैठकपछि विद्यालय बन्द गर्ने निर्णय लिएको बताउनुभयो ।

जिल्लाभर २६० भन्दा बढी शैक्षिक संस्थामा करिब ३५ हजार बिद्यार्थी अध्ययनरत छन् । म्याग्दीमा बुधबार थपिएका सहित सक्रीय संक्रमितको संख्या एक सय जना नाघेको छ । स्वास्थ्यकर्मी, चिकित्सक, जनप्रतिनिधी, कर्मचारी, ब्यापारी र बिद्यार्थीहरु संक्रमित भएका छन् । सिनेमाहल, डान्सबार, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम पनि बन्द गरिएको छ । बेनी नगरपालिका–४, अन्नपूर्ण गाउँपालिका– १, २, ४ र ६, धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा रहेका प्राकृतिक तातोपानीका कुण्ड पनि बन्द गरिएको छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्त सम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने निर्णय भएको सहायक प्रजिअ पन्तले बताउनुभयो । यसैगरी जिल्ला भित्र खोप नपाएका ब्यक्तिहरु प्हिचान गरी कोभिड बिरुद्ध खोप अभियानलाई तिब्रता दिने र शैक्षिक क्रियाकलाप बन्द भएता पनि बिद्यालयका लक्षित बिद्यार्थीहरुलाई स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी कोभिड बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार