क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि दिँदैन : अलमुताइरी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबाल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गर्नुभएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै पशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । मछिन्द्र फुटबल क्लबले एन्फामा यस विषयमा पत्राचार नै गरिसकेको छ भने अन्य क्लबका प्रशिक्षकले पनि आपत्ति जनाउनुभएको थियो ।

बिहीबार ए डिभिजन लिगका प्रशिक्षकहरुले ‘अलमुताइरीले खेलाडीलाई मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि होमवर्क दिएको’ भन्दै आक्रोश पोख्नुभएको थियो । उनीहरुले ‘खेलाडी लिगमा भन्दा राष्ट्रिय टोलीको तयारीमा केन्द्रित हुँदा क्लबको प्रदर्शनमा असर पर्ने’ बताएका थिए ।त्यसमा अलमुताइरीले प्रष्टीकरण दिँदै भन्नुभएको छ,’मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा शतप्रतिशत दिएर नखेल्नु भनेको छैन । क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि शतप्रतिशत दिँदैन भन्ने मेरो विश्वास छ ।’

अलमुताइरीले आफ्नो उपस्थितिले लिग म्याचमा खेलाडीलाई दबाब परेको भए आफूले टेलिभिजनमै लाइभ म्याच हेर्नेसमेत जनाउनुभएको छ ।’मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु,’ अलमुताइरीले फेसबुकमा लेख्नुभएको छ ,’सबै क्लब र खेलाडीहरुलाई लिगका लागि शुभकामना ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार