गाउँपालिकाका वडा सचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो।

वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरूद्ध ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो माग गरी अख्तियारले मुद्दा दायर गरेको हो। पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ गते राति सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको थियो। हराएको भन्दै अख्तियारमा अनुसन्धान गरी पाऊँ भन्ने उजुरी परेको थियो।

त्यसमा अनुसन्धान गर्दा वडा सचिव राउत र कार्यालय सहायक गरीले बैंकबाट रकम लिएर आएका थिए । त्यसपछि कार्यालय सहयोगी मिश्रसहित उनीहरूको रोहवरमा उक्त रकम दराजको सेफमा राखिएको थियो । अख्तियार प्रवक्ता भण्डारीका अनुसार दराजको चाबी राउत र गिरीसँग थियो। कार्यालयको मूल ढोकाको चाबी मिश्रसँग थियो। तर सो रकम चोरी हुँदा घटनास्थलमा कुनै तोडफोड गरेको नदेखिएको अख्तियारले जनाएको छ।

साथै उनीहरूले सुरक्षा निकायलाई पनि जानकारी नदिएको र सुरक्षाको लागि समन्वय नगरिएको अख्तियारले दाबी गरेको छ।त्यसरी उनीहरूले रकम राखेर घर गएको हुँदा अख्तियारले उनीहरूमाथि सम्पत्ति बदनियत गरी हानीनोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको हो। अख्तियारले बिगो ५३ लाख एक हजार ८५६ रुपैयाँ असुल गर्न समेत माग गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार