गुपचुप रुपमा प्रक्रिया टुंग्याएर क्यासिनोको लाइसेन्स बाँड्दै मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले गुपचुप प्रक्रिया टुंग्याएर होटलहरुलाई क्यासिनो सञ्चालनको अनुमति दिनुभएको छ । उहाँले पर्यटन मन्त्रालय सम्हालेपछि गुपचुप रुपमा प्रक्रिया टुंग्याएर ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको पर्यटन विभागले जनाएको छ ।

उहाँले मन्त्रालयसम्हालेपछि क्यासिनो सञ्चालन गर्नेको संख्या २२ पुगेको पर्यटन विभागले जनाएको छ । उहाँ पर्यटन मन्त्रालय आउनुभन्दा अघि १७ वटा मात्र थिए । चालु आर्थिक वर्षमा मात्र ६ वटा नयाँ क्यासिनोले सञ्चालन अनुमति पाएका छन् । जसमा आलेले मात्र ५ वटा क्यासिनो सञ्चालन गर्न अनुमति दिनुभएको छ ।

गत २२ असोजमा मन्त्री भएका आलेले धमाधम लाइसेन्स बाँड्न थालेपछि अहिले क्यासिनो लाइसेन्स लिने दाउमा रहेकाहरुले चलखेल गर्न थाल्नुभएको छ। केही हप्ताभित्र पनि लाइसेन्स बाँड्ने तयारीमा मन्त्रालय रहेको छ । क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने तय गरिएको छ ।

तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पुरा गर्नुपर्छ । नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्री आलले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिनुभएको छ । मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिनुभएको छ । उहाँले करिब २ महिनाको अवधिमा १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गर्नुभएको हो।

गत ९ कात्तिकमा मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौँको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।

गत १२ कात्तिक २०७८मा नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ। १४ पुस २०७८मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टलेलाई क्यासिनोको अनुमतिपत्र दिइएको छ । १६ पुस २०७८मा नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोलाई लाइसेन्स दिइयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेको बेला असोज १६ गते मन्त्रालयबाट भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो।

मन्त्रालयले काठमाडौँको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन् बढ्ने देखिएको छ।अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार