दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन

म्याग्दी । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई ८ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।

नगरसभाबाट वडा नम्वर १ मा झाप्रिखेत कुलो बग्ने ठाउँदेखि तल झ्याउले कालिगण्डकी किनारामा तटवन्ध निर्माण, वडानम्वर २ मा वडा कार्यालयदेखि बाबुराम दर्जीको पसलसम्मको सडक ढलान, वडानम्वर ३ मा दुधेखोला भकिम्ली सडक मर्मत, वडानम्वर ४ मा राजिकुलो राक्से बाजगारा मोटरबाटो स्तरोन्नती, वडानम्वर ५ मा भैँसी गोरेटो बाटो निर्माण डडुवा र नयाँगाउँ कुवापानी मोटरबाटो मर्मत, वडानम्वर ६ मा डम्मरा बैकल्पिक खानेपानी परियोजना तथा पानीखोल्सा मर्मत गर्ने, सदरमुकाम बेनीस्थित रहेको वडानम्वर ७ मा बेनी दरवाङ बसपार्कको नाली ब्यवस्थापनसहित र बेनी बजार रिङरोड ग्रावेल, वडानम्वर ८ मा बेनी बजार बैकल्पिक रिङरोड ग्रावेल गर्ने, वडानम्वर ९ मा सामुदायिक भवन निर्माण तथा वडा कार्यालय प्रवेश गेट रङरोगना महिला पुरुष शौचालय र वडानम्वर १० मा ठुलोखोलादेखि सिलढुंगासम्मको मोटरबाटो स्तरोेन्नती गर्ने गरी नगरसभाबाट १० वटा योजनामा सो बजेट विनियोजन गरिएको नगर उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।

नगरसभाले २०७८र०७९ मा छनोट भएका ८ वटा योजना संसोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयनका लागि छनोट भएका ४७० योजनामध्ये ३० वटा योजना सम्पन्न र ४३ वटा सम्झौतासंगै अन्य योजना कार्यान्वयनको चरणमा रहेको उपप्रमुख सञ्जु बरुवालले जानकारी गराउनुभएको थियो । नगरसभामा मेयर श्रेष्ठले सबै नागरिकलाई कोभिड खोपसहितको स्वास्थ्य सरल र सहज रुपमा उपलब्ध गराउने प्रयास भएको बताउनुभयो ।

उहाँले पर्यटकिय सम्भावना बोकेको तातोपानी कुण्ड ब्यवस्थापन तथा प्राकृतिक चिकित्सालय निर्माणका लािग २० लाख बजेट, रावण पार्क निर्माणका लागि संघिय सरकारसंग साझेदारीको सुरुवात, शिक्षालाई गुणस्तर बनाउन विद्यालय पुर्वाधार निर्माण तथा सुधारमा आवश्यक पहल, कृषि पेशालाई ब्यवस्थित बनाउन बाली उत्पादन तथा पशुपालनमा अनुदानका कार्यक्रम संचालन, नगरक्षेत्रको एकमात्र खेलकुद मैदानको प्याराभिट र खेलमैदानको भौतिक सुधारका लागि सम्वन्धित निकायसंग पहल गरिएको जानकारी दिनुभयो । सबै नागरिकलाई खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ संघिय सरकारको सहयोगमा खवरा खानेपानी, गौश्वार खानेपानी योजना र जामुनाखर्क खानेपानी योजना निर्माणका लागि अघि बढाएको बताउनुभयो ।

नगरपालिकाले २ लाखसम्मका योजनालाई वडा कार्यालयबाट सम्झौता गर्ने ब्यवस्था, आन्तरिक आय अभिवृद्धिका लागि करको दायरा बढाउने प्रयास, बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा एकतर्फी सवारीसाधन संचालन, बसपार्क व्यवस्थापनका लागि समिति गठन लगायतको काम गरिएको मेयर श्रेष्ठले नगरसभामा जानकारी गराउनुभएको थियो । समृद्ध नगर निर्माणमा सरसरफाई व्यवस्थापनको लागि ल्याण्डफिलसाईड छनौटमा समस्या, नदीजन्य पदार्थको अवैध उत्खनन् एवम् चोरी निकासी पुर्ण रुपमा नियन्त्रण हुन नसकेको, छाडा गाईबस्तुको ब्यवस्थापन र सबै नागरिकलाई पुर्ण रुपमा करको दायरामा समेट्न नसक्नु नगरपालिकाको चुनौती रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार