फाइल अस्तव्यस्त भयो, डिजिटलाइजेसन गर्नू : मन्त्री दाहाल

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरूलाई डिजिटलाइजेसन गर्न निर्देशन दिनुभएको छ।शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो।

उहाँले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताउनुभयो । मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने बताउनुभयो । उहाँले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रूपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताउनुभयो।

उहाँले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताउनुभयो।मन्त्री दाहालले भन्नुभयो, ‘यो फाइल जुनरूपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ। यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालतरु एकान्तकुनामा हिजो फाइलहरू हेर्‍यौं, बेहाल छ। त्यही भएर यसलाई डिजिटलाइजेसन गर्ने क्रममा अलि ध्यान दिनुस्।’

हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव नभएको भन्दै प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गर्न उहाँले सुझाउनुभयो। ‘मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेण्डर गरेर प्राइभेटलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छौं। यो ढड्डा अहिले जुन रूपमा रहेको छ। यसले भोलि यही रूपमा रहे सबैलाई अप्ठ्यारो बनाउँछ। त्यसैले सिस्टम नै नयाँ बनाएर जाऔं। जस्तो यहाँ क्यास लिएर आउनु नपरोस्। यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ।

क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ। १/२ जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरूले दोष पाइरहेका छन्।’मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमान्दार कर्मचारीहरूले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराउनुभयो। उहाँले कार्यालयमा आउने सेवाग्राहीहरूलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार