मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ। ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ। क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो। वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ।

विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ। अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो। वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार