सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उहाँले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।

हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको पनि मन्त्री खतिवडाले जनाउनुभएको छ । उहाँका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि उहाँले प्रस्ट पार्नुभएको छ ।

उहाँका अनुसार १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रामा र ८३ प्रतिशतले कमसे कम एक मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० जनाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्री खतिवडाले जनाउनुभएको छ । उहाँका अनुसार अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै तीन लाख जनालाई अतिरिक्त मात्रा खोप लगाइसकिएको छ ।

उहाँले भन्नुभएको छ , ‘यही खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो र तेस्रो लहरमा हुन सक्ने निकै ठुलो जोखिमलाई कम गर्न सकिएको छ ।’ कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको तथा हामीकहाँ अझै धेरैजना कोभिड–१९ को खोप लगाउन बाँकी रहेकाले यसलाई तीव्रताका साथ अघि बढाउन र बाँकी उमेर समूहकालाई समेत खोपको व्यवस्थापन गर्नुपर्ने चुनौती कायम रहेको पनि उहाँले प्रस्ट पार्नुभएको छ ।

‘खोप तथा खोपजन्य सामग्रीको विश्वव्यापी चुनौतीका बीच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नुहुने सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्था, निकायहरु, जनप्रतिनिधिहरु, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु, आमसञ्चार माध्यमहरु, आमसर्वसाधारणहरु सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु,’ उहाँले भन्नुभएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार