एमसीसीले जनतालाई रोजगार दिन्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको छ ।

उहाँले ५ वर्ष भित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताउनुभयो। उहाँले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो। मन्त्री कार्कीले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा उमालेसँग आग्रह गर्ने बताउनुभयो।

उहाँले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भुमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको बताउनुभयो । मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाइ उड्डयन जस्ता विधेयकहरुको बारेमा पनि छलफल केन्द्रित भएको बताउनुभयो। त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताउनुभयो। मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने बताउनुभयो। उहाँले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताउनुभयो। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार