एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताउनुभएको हो ।

पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताउनुभयो । ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो । त्यसमा एमसीसीसँग भएका मतमतान्तर नै कारक थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन ।

साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’प्रचण्डले निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने पनि धारणा राखेको ती नेताको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार