
काठमाडौं। विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरुले पार्टी प्रवेश गराउनुभएको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो । उहाँ त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा थिए । रन्जुले पनि साझा विवेकशील पार्टी छाडेर स्वतन्त्र रहने घोषणा गरिसक्नुभएको छ । वैद्यको समूह भने अर्को दिन एमाले प्रवेश गर्ने तयारी छ ।
एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताउनुभयो ।पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईलगायत स्थानीय नेताहरु सहभागी थिए । काठमाडौं ज्ञानेश्वरका स्थानीय वैद्य उज्ज्वल थापाको अभियानबाट विवेकशील पार्टीमा जोडिएका थिए । नागरिक खबरबाट