
काठमाडौँ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको हो।
उहाँले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे। सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गर्नुभयो। ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो। र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो।
किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो’, उहाँले भन्नुभयो, ‘तर जसरी खेलवाड गरिएको छ, देशको कार्यपालिका, व्यवस्थापिका संसद, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ यो मलाई लाग्छ नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन भन्ने कहिलेकाहीँ मनमा शंका लाग्छ।’ nagariknews.nagariknetworkबाट