मर्स्याङ्दी करिडोरका चार ओटा सबस्टेसन धमाधम निर्माण हुँदै

काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ ओटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको हो ।खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने छ ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभिए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनहरुका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरुको जडान भइरहेको छ ।खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२र३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् ।

खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरु निर्माणाधीन छन् ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत् सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरुलाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उहाँले उल्लेख गर्नुभयो । लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत् उदीपुर सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरुको विद्युत् वैकल्पिक व्यवस्थामार्फत् हाल सञ्चालनमा रहेको मध्य मर्स्याङ्दी विद्युत्‌गृहको स्वीचयार्डमा जोडिने छ ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको विद्युत् खुदी सबस्टेसनमा जोडिने छ । मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार