रघुगंगा गाउँपालिकाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित(तस्बिरहरु)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो ।

विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको ऐन, कार्यविधि र नियमावलीहरुलाई छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको थियो । सभाले २ वटा ऐन पारित गरेको छ । खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन– २०७८ र पालिका प्रहरी ऐन–२०७८ पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

खानेपानी सम्बन्धी ऐनमा खानेपानीको मुहानको प्राथमिकता तोकिएको छ । गाउँपालिकाभित्र रहेका खानेपानीका मुहानहरुमा सबैभन्दा पहिलो खानेपानी र त्यसपछि सिचाँईलाई प्राथमिकता निर्धारण गरिएको छ । उक्त ऐन अनुसार खानेपानी उपभोक्ता संस्था स्थापना हुने बाटो खुलेको छ भने फोहोर व्यवस्थापनको लागि नीतिगत प्रवन्ध भएको छ ।

पालिका प्रहरी ऐनले गाउँपालिकाको सार्वजनिक संरक्षण, विपद् व्यवस्थापन, न्यायिक समितिको फैसला कार्यान्वयन र समाजका विकृति, विसंगतिको नियन्त्रणका लागि नियमावली बनाएर पालिका प्रहरी भर्ना गर्न सक्ने बाटो खुलेको छ । सभाले न्यायिक समितिको कारबाहीलाई किनारा लगाउँदा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ र खरिद नियमावली २०७५ लाई समेत संसोधन गरेको छ ।

सभाबाट सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धी कार्यविधि–२०७८,सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि–२०७८, बाल क्लब गठन तथा परिचालन कार्यविधि–२०७८ र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका –२०७८ पारित भएको छ । सभाले स्थानीय पाठ्यक्रमलाई स्वीकृत गरेको छ । गाउँ शिक्षा समिति, त्यसअन्तरगतका उपसमिति र कार्यदल हुँदै कार्यपालिका बैठकबाट पास गरेर सभामा प्रस्तत गरेको स्थानीय पाठ्यक्रम स्वीकृत भएसंगै आगामी शैक्षिक सत्रदेखि कक्षा १ बाट स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।सभाले ११ लाख ५९ हजार रुपैयाँ बराबरको सैदान्तिक बेरुजुलाई नियमित समेत गरेको छ । स्थानीय तह निर्वाचनको मतगणनामा सिसीटिभी जडान गर्ने कार्यका लागि उपकरण जडानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको पञ्चबर्षिय प्रगति समिक्षालाई समेत स्वीकृत गरिएको छ । सभामा अध्यक्ष भण्डारीले पाँच बर्षे कार्यकालमा गाउँपालिकामा भएका मुख्य उपलब्धीहरुलाई प्रगति समिक्षाको रुपमा प्रस्तुत गर्नुभएको थियो । पाँच बर्षको अवधिमा गाउँपालिकाले ऐन निर्माण संगै विकास निर्माण तथा सामाजिक विकासमा महत्वपुर्ण हासिल गरेको बताउनुभयो । उहाँले संघियता स्थापना भएसंगै गाउँपालिकाले शिक्षा,सडक ,स्वास्थ्य ,खानेपानी लगायत पुर्वाधार क्षेत्रको विकास गरेको उल्लेख गर्नुभयो । पालिकाले पाँच बर्षको अवधिमा हालसम्म सम्पन्न गरेका प्रगति समेटेर समीक्षा पुस्तक प्रकाशन गर्ने अन्तिम तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

 

अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले पालिकाले पाँच बर्षको अवधिमा गरेका उपलब्धीहरुको अभिलेखिकरण गर्नु सकरात्मक रहेको बताउँदै जनताको समस्या र गुनासा सम्बोधनमा स्थानीय तहको भूमिका रचनात्मक हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति केवी भण्डारी, नेकपा(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षहरु जिवनकुमार मल्ल, बिलबहादुर फगामी, मनकुमार शेरपूञ्जा, गमान छन्त्याल,देउप्रसाद पुन लगायतले मन्तव्य बोल्नुभएको थियो । भने उपाध्यक्ष कमला तिलिजाले स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार