बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसबाट वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,नेकपा एमालेबाट वर्तमान गाउँपालिका उपाध्यक्ष खरमाया विटालु र बेगप्रसाद गर्बुजा तथा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ७ का वडा अध्यक्ष रेशम जुग्जाली आकांक्षी देखिनुभएको छ । तर,कुनै पनि पार्टीले आधिकारीक रुपमा उम्मेद्धारी घोषणा गरेका छैनन् ।
कांग्रेसले अध्यक्ष रोका मगरलाई नै दोस्रो कार्यकालको लागि अध्यक्षमा दोहो¥याउने निश्चित जस्तै छ । भने एमालेबाट ०७४ को निर्वाचनमा अध्यक्षमा पराजित हुनुभएका गर्बुजा र वर्तमान गाउँपालिका उपाध्यक्ष विटालुले पार्टी भित्र बलियो रुपमा अध्यक्ष पदमा दावी गर्दै आउनुभएको छ । दुवै जनाले पार्टीभित्र आन्तरिक छलफल र नेतृत्वसंग लविङ गर्दै आउनुभएको छ ।
त्यस्तै माओवादी म्याग्दीका संयोजक समेत रहनुभएका वडा अध्यक्ष जुग्जालीलाई पार्टीले पनि सर्वसम्मत रुपमा अध्यक्ष पदमा उठाउने निश्चित जस्तै छ । मालिकामा तुलनात्मक रुपमा कांग्रेस एमाले र माओवादी भन्दा बलियो पार्टी देखिएको छ । सत्तारुढ दलहरु गठबन्धनका लागि जिल्ला तहबाट कांग्रेसको नेतृत्वमा म्याग्दीमा राजनितिक संयन्त्र बनाएर आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धन नभए मालिकामा चुनावमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
गठबन्धन भए मालिकामा एमालेलाई जित हात पार्न कठिन हुने देखिएकाे छ । आकांक्षीहरुले आन्तरिक रुपमा छलफल ,नेतृत्व संगको लविङ र चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिएका छन् । कांग्रेसले केन्द्रको सर्कुलर अनुसार घरघर जाऔं, कांग्रेस जिताऔं अभियान चलाइरहेको छ । एमालेले टोल कमिटी विस्तार र जनवर्गीय संगठनलाई क्रियाशील बनाइरहेको छ । भने माओवादीले पनि चुनावी अभियानलाई तिब्रता दिएको छ ।
नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष समेत रहनुभएका युवा नेता अध्यक्ष रोका मगर कांग्रेस म्याग्दीको सम्पन्न जिल्ला अधिवेशनमा लोकप्रिय मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो । कांग्रेसले २०७४ को चुनावमा ७ वटा वडा रहेको मालिकामा दुई वटा वडा अध्यक्ष ,केही सदस्य सहित गाउँपालिका अध्यक्ष जित हात पारेको थियो । नेकपा एमालेले तीन वटा वडा अध्यक्ष ,केही सदस्य तथा उपाध्यक्ष जितेको थियो । माओवादीले एक वटा वडा जितेको थियो । भने स्वतन्त्रबाट उम्मेद्धारी दिएर जित्नुभएका वडा अध्यक्ष जुग्जाली माओवादी केन्द्रमै फर्किएपछि मालिकामा माओवादीको संख्या दुई वटा वडा पुगेको छ । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट खमबहादुर रोका मगरलाई अध्यक्ष पदमा उम्मेद्धारी बनाउने निर्णय गरिसकेको छ ।
कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले वडा कार्यसमिति मार्फत सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले केही वडामा आइतबार वडा कार्यसमितिबाट सर्वसम्मत उम्मेद्धारी टुङ्गाएको बताउनुभयो ।वडामा सर्वसम्मत नभए गाउँपालिका कार्यसमितिलाई उम्मेद्धारीहरुको नामावली सिफारिस गर्ने र छिट्टै उम्मेद्धारीहरुको टुङ्गो लाग्ने बताउनुभयो । नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले चुनावी अभियान संगै आन्तरिक रुपमा वडा र पालिकाको उम्मेदवार चयनको प्रक्रिया समेत अघि बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ,वडा र पालिकाबाट जिल्ला र प्रदेशलाई सिफारिस गरेपछि वडाको उम्मेद्धारी जिल्ला र पालिकाको उम्मेद्धारी प्रदेशले टुंग्याउने छन् । यसैगरी माओवादी केन्द्रले पनि केही वडामा सर्वसम्मत उम्मेद्धारी टुंगाएको र बाँकी २७ गतेभित्र टुंगो लागिसक्ने माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना मतदाता रहेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा मालिकामा १० हजार ६४४ जना मतदाता संख्या रहेका थिए ।