आमसञ्चार प्रतिष्ठान गठन गर्न राज्यसँग लविङ गरिराखेका छौं : अध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिनुभएको हो।

बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उहाँले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पार्नुभयो । सरकारले हिजो (मंगलबार) प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म नभएकोमा अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरूलाई समेत आह्वान गर्नुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामीले राज्यसँग ठूलो लविङ गरिराखेका छौ कि आम सञ्चार प्रतिष्ठान गठन गर । त्यो आमसञ्चार प्रतिष्ठानबाट पत्रकारिता सिक्न चाहनेहरुले पत्रकारिता सिक्ने अवसर पाउन् । अहिलेसम्म सिकाउने मेकानिज्मको अभावका कारण पत्रकारिता दक्ष, मर्यादित र व्यवसायिक हुन नसकेको अवस्था हो ।

हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रममा सो प्रतिष्ठानको कुरा उल्लेख गरिएको छ । यसअघिको नीति तथा कार्यक्रममा पनि आमसञ्चार प्रतिष्ठानको कुरा आएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । अब ढिलाई नगरी त्यसको कार्यान्वयन हुनुपर्दछ ।’अध्यक्ष पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरूको प्रलोभनमा नपर्न पनि सञ्चारकर्मीहरूलाई सचेत गराउनुभयो । विभिन्न स्वार्थ समूहहरूले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उहाँले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई सचेत गराउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार