उत्तरी गोरखामा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका घले आज बिहानदेखि बिरामी भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबाट लगिएको तर निको नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताउनुभयो।

गृहमन्त्रालय सँगको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट बिरामी म्यादी प्रहरीको तत्काल उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताउनुभयो। ‘घटना थाहा भएपछि हामीले गृहमा जानकारी गरायौँ, अहिले उपचारकालागि काठमाण्डौँ लगिएको छ’ उहाँले भन्नुभयो। ५१ वर्षीय घले निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षा टोलीसँग आईतबार मतदान केन्द्रमा पुगेका थिए। उनी वैशाख २४ गते सदरमुकामबाट त्यसतर्फ गएका हुन्।

आज बिहान पेट दुखेर समस्या भएपछि काठमाडौँबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अवस्था बुझेका थिए। सिर्दिबासमा उपचार संभव नभएपछि प्रजिअ आचार्यको पहलमा उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताउनुभयो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बत सँग सिमाना जोडिएको पालिका हो। त्यहाँ अहिलेसम्म सडक सञ्जाल पुगेको छैन। दुर्गम भएकै कारण बिरामी हुँदा स्थानीयले हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार