एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट

काठमाडौं । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन्। मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ।

‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडाध्यक्षका उमेदवार लिलीवीर बिसीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरेकोमा राप्रपाले विरोध गरेको छ।

‘घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ। साथै यस्ता घटनाले निर्वाचनमार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकारसमेत कुण्ठित भएको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभएको छ । साथै राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार