कांग्रेस केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धिबारे छलफल हुनुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठक राखेर बढ्दो महंगी र पेट्रोलियमको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न माग गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो महंगी नियन्त्रण सम्बन्धमा कार्ययोजना बनाउन केन्द्रीय समितिको बैठक राखेर विशेष छलफल गर्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनुभएको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्तै आपत्तिजनक छ। अहिले पेट्रोलियम तथा खाना पकाउने ग्यासको मूल्य अत्यधिक बढाइएको छ’, सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, ‘यो अत्यन्तै चिन्ताको कुरा हो। निरन्तर महंगी बढिरहेको छ। महंगीको रफ्तारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् बढाउनेछ।’अहिले अर्थतन्त्र ओरालो गतिमा लागेको र अर्थतन्त्रलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् ओरालो लगाउने भन्दै पार्टी गम्भीर बन्नुपर्ने बेला भएको उहाँले बताउनुभएको छ ।

सरकारले पेट्रोलियमको मूल्यवृद्धि रोक्ने उपाय नखोजेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ । वर्तमान सरकारले गरेका राम्रा कामको जस कांग्रेसबाहेक अरूले लिने र नराम्रा कामको अपजस कांग्रेसको टाउकोमा थोपर्ने कुटिल प्रवृत्ति गठबन्धनभित्र देखिएको भन्दै उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा पेट्रोलियमको मूल्यवृद्धि र बढ्दो महंगीको विषयमा नेपाली कांग्रेस अझ बढी गम्भीर हुनुपर्ने बेला आएको छ।’

सरकारले महंगी नियन्त्रणका लागि ठोस कार्ययोजना बनाएर लागू गर्न उहाँले माग गर्नुभएको छ । मूल्यवृद्धि र अर्थतन्त्रको ओरालो गति नियन्त्रण गर्न गठबन्धनमा सहभागी दलहरू र उनीहरूले समालेका मन्त्रालयहरूमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्दछ। आवश्यक पर्छ भने मन्त्रीमण्डल पुनर्गठन गरेर गठबन्धनका असक्षम मन्त्रीहरूलाई तत्काल बिदा गर्नुपर्दछ’, उहाँले भन्नुभएको छ ।

आउँदो वार्षिक बजेट निर्माणमा प्रधानमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरी अर्थमन्त्रीलाई एकलौटी बजेट बनाउन दिन नहुने उहाँले बताउनुभएको छ । मन्त्रीमण्डलमा प्रधानमन्त्रीको विशेषाधिकार हुने तथ्यलाई ध्यान दिनुपर्छ’, उहाँले भन्नुभएको छ । वर्तमान महंगीलाई ध्यानमा राखेर विपन्न वर्गलाई राहत तथा अनुदान दिन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार