घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रभावकारी बनाउन विभिन्न माग राखेर जारी घोपा बचाउ आन्दोलन र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति भएको छ।आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसहितको उपस्थितिमा भएको वार्तामा समस्या समाधान गर्न एक कार्यदल बनाउने सहमति भएको छ। पाँच सदस्यीय उक्त कार्यदलले समस्या पहिचान र निराकरण गर्न अध्ययन गरि सिफारिश गर्ने छ।
कार्यदलमा २ जना सेभ घोपा अभियानका सदस्य रहनेछन् भने प्रतिष्ठानबाट २ जना र एक जना मेयरका प्रतिनिधि रहने निर्णय गरिएको छ।

सेभ घोपाबाट स्पेन मगर र नविन राईं कार्यदलमा सदस्य रहनेछन्। सोही वार्तामा तत्काल १५ दिनभित्र गर्न सकिने काम प्रतिष्ठानले गर्ने र बाँकी कार्यदलको सिफारिश वमोजिम गर्ने पनि निर्णय तथा सहमति भएको छ। प्रतिष्ठानको निर्देशन अनुसार काम नगर्ने चिकित्सक तथा कर्मचारीहरुलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने पनि सहमति भएको सेभ घोपाका प्रमुख अभियन्ता सुदन गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार तत्काल गर्न सकिने कामहरुको ग्यारेन्टी गर्न सेभ घोपा आन्दोलन २ सातासम्म जारी रहनेछ । विगत ५६ दिनदेखि प्रतिष्ठानको डेन्टल गेटबाहिर धरानेहरुले धर्ना बसेर आन्दोलन गरिरहेका छन् । दुई साताभित्र गर्न सकिने काम गर्ने सहमति पालना भए नभएको हेरेर मात्र आन्दोलनलाई पुर्णरुपमा रोक्ने उहाँले बताउनुभयो । ‘त्यो काम पनि भएन भने हामी आन्दोलन सशक्त बनाउछौ,’उहाँले भन्नुभयो।

केही दिनयता आन्दोलन चर्कदै गएपछि प्रतिष्ठानले वार्तामा आउन शुक्रबार पत्राचार गरेको थियो । तर, आन्दोलनरत पक्षले उपकुलपति स्वयम वार्तामा बस्नुपर्ने अडान राखेको थियो। वार्ता गर्न इच्छा नदेखाएका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सोमबार कार्यालय समयपछि क्वार्टर फर्कर्दै गर्दा आन्दोलनकारीहरुले घेराउ गरेका थिए। उपकुलपति कार्यालय परिसरमा झण्डै एक घण्टासम्म गाडीभित्रै घेराउमा परेका उपकुलपति गिरीसँग मेयर राईले समन्वय गरेपछि वार्तामा बस्न तयार हुनुभएको थियो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार