जनकपुर उपमहानगर प्रमुखको शपथ ग्रहण एमाले लगायतका जनप्रतिनिधिले गरे बहिष्कार

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित प्रमुख मनोजकुमार साहको शपथग्रहण कार्यक्रमलाई नेकपा एमाले लगायतका दलबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । उपमहानगर प्रमुखको शपथग्रहण कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएको भन्दै नेकपा एमालेलगायत अन्य दलबाट निर्वाचित जनप्रतिनिधिले सो कार्यक्रम बहिष्कार गरेका हुन् ।

बिहीबार शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काँग्रेस नेता निधि काठमाडौंबाट जनकपुरधाम आएका हुन् । जनकपुरधाम वडा नम्बर ८ का वडाअध्यक्ष दिनेश सिंहले सार्वजनिक पदमा नरहेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर जनकपुरधाम उपमहानगरको कार्यालयलाई काँग्रेस कार्यकर्ताको अखडा बनाउन खोजेकाले बहिष्कार गरेको बताउनुभयो ।

अर्का वडा अध्यक्ष लक्ष्मेश्वर मण्डलले पनि जनकपुरधाम उपमहानगरको कार्यालयलाई पार्टीको कार्यालय बनाउन खोजेकाले बहिष्कार गरेको लगाउनुभयो । मण्डलले भन्नुभयो, ‘स्वतन्त्ररुपमा मेयरमा पदमा निर्वाचित भएका मनोज साहले काँग्रेसको पार्टी कार्यकर्ता झैँ पार्टीकै नेता सहभागी गराएर शपथ ग्रहण गराउन खोजेकाले बहिष्कार गरेका हौँ ।’

बहिष्कार गर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बेचन साह, वडा नम्बर ८ का वडाअध्यक्ष दिनेश सिंह, वडा नम्बर १२ का वडाअध्यक्ष महेन्द्र साह, वडा नम्बर १८ का वडाअध्यक्ष लक्ष्मेश्वर मण्डल, वडा नम्बर १९ का वडा अध्यक्ष विनोद साह, वडा नम्बर २० का वडाअध्यक्ष मोती राइन कवारी, वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनी छन् ।वडा सदस्यहरुमा वडा नम्बर ३ का मधु कुमारी, सोनावती देवी, रितेश भगत, गणेश ठाकुर, वडा नम्बर ५ का समत अन्सारी वडा नम्बर ८ का वडा सदस्यहरु मुन्नी दास, राजीव कुमार राय, सैलुन मोमिम, रुबी देवी सिंहलगायत ३६ जना जनप्रतिनिधिले पनि शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।

काठमाडौंबाट विमानमा जनकपुरधाम आएका नेता निधिलाई स्वागत गर्न नवनिर्वाचित प्रमुख साहसहित काँग्रेसका कार्यकर्ताहरू विमानस्थल पुगेका थिए । सत्ता गठबन्धनको भागबन्डामा प्रमुख जसपा नेपाललाई दिएपछि साह काँग्रेसको नगर सभापतिसहित साधारण सदस्यबाट समेत राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रुमपा चुनाव लडेका थिए । तर उनी निर्वाचित भएपछि पुनः काँग्रेसमा फर्किने भएका छन् ।काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनलाई बेवास्ता गर्दै चुनाव लडेका साहले प्रमुखमा जित हासिल गरेपछि निधिलाई पछ्याउँदै आएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार