जिम्बावे‘ए’ सँग खेल्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु पर्ने अवस्था छ । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका बाँकी खेलमा सहज जित निकाल्दै सिरिज जित्ने रहेको बताएका छन् । आइतबारको खेलपछि बोल्दै सन्दीपले आफूहरु राम्रो कमब्याक गर्ने योजना भएको बताए ।

‘हामी कमब्याक गर्नेछौं । एक खेलले मात्र सिरिज जित हारको छिनोफानो हुँदैन । अब दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्नेछौं,’ सन्दीपले भने । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यता जिम्बावे‘ए’ पनि बलियो टोली हो । जिम्बावे‘ए’ नेपाललाई हराएर सिरिज जित्ने योजनामा छ । आजको खेल जितेमा जिम्बावे‘ए’ ले सिरिज आफ्नो नाममा बनाउने छ । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल तेस्रो खेल बुधबार हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार