डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा

म्याग्दी । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले बेनी नगरपालिकामा चुनावी प्रचारलाई तिव्रताका साथ अगाडि बढाएको छ । सोमवार बेनी नगरपालिका कमिटीले बेनपा ४ डाँडाखेत, बेनपा ५ बगुवाखोला र बेनपा ६ छापमा चुनावी सभा सम्पन्न गरेको छ ।

नेकपा एमालेबाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसी, उप प्रमुख पदका उम्मेदवार पशुपति शाही तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टोलीले चुनावी सभा, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्रता दिएका हुन ।

सभालाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला ईन्चार्ज भुपेन्द्र थापा, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटी अध्यक्ष नारायण जिसी, लगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुखका उम्मेदवार सुरत केसीले नगरबासीको मुहार फेर्ने योजनालाई कार्यान्वयन गर्नका लागि सम्पूर्ण नगरबासीले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन अनुरोध गर्नुभयो ।

उहाँले युवाहरुलाई सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, सवै बस्तीहरुको सडकलाई स्तर उन्नति गरि बाह्रै महिना संचालन गर्न सकिने बनाउने, शिक्षा र स्वास्थ्यमा उल्लेख्य विकास गरि नागरिकहरुलाई सचेत र शिक्षित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।उहाँले आफु स्वयमसेवीको भूमिकाबाट समाजको सेवामा निरन्तर लागिपरेकाले नगरबासीको हरेक दुख र अप्ठ्याराहरुमा आफुुुसंगै हुने पनि बताउनुभएको छ ।

त्यस्तै उपमेयरका उम्मेदवार पशुपति शाहीले महिला सशक्तिकरण र जागरणका कार्यक्रम संचालन गरि वडाका सवै महिलाहरुलाई आयआर्जनमा समावेश गराउने योजना अघि सारेको बताउनुभयो ।महिला, बालबालिका तथा जेष्ठ नागरिकको सुरक्षा, अशक्त, अशहायहरुको अभिभावकको रुपमा रहेर समेत काम गर्ने शाहीले बताउनुभयो । सामाजिक सशक्तिकरणका कार्यक्रमलाई जोड दिने उहाँको योजना रहेको छ ।

निर्वाचन परिचालन कमिटीका अध्यक्ष नारायण जिसीले एमालेका उम्मेदवारहरु पालिका देखि वडा सम्म नै सक्षम व्यक्तिहरु रहेकाले सात सूर्यमा भोट गरि सवैलाई जिताउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ५ का अध्यक्षका उम्मेदवार गोविन्द बानियाँ, र वडा नम्वर ६ का अध्यक्षका उम्मेदवार कृष्णसिंह बानियाँले वडाको समृद्धि र विकासका लागि सूर्यमा मतदान गर्न अनुरोध गर्नुभयो ।

नागरिकको सेवामा तत्परता, वडाको कृषि तथा पर्यटनको विकासमा जोड दिई आम्दानी बृद्धि गर्ने अध्यक्षका उम्मेदवार बानियाँ द्वयले प्रतिवद्दता जनाउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुले गीत, नृत्य सहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार