धवलागिरी गाउँपालिकाले आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक/एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ ।गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाको शैक्षिक जनशक्ती उत्पादनमा प्राथमिकता दिने गरी विभिन्न योजना अन्तरगत उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको लगानीमा पढाउने निर्णय गरेको हो ।

अध्यक्ष पुनले गाउँपालिका भित्रको गरिव तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षालाई समेत प्राथमिकता दिएको बताउनुभयो । ‘क्षमता भएपनि आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुने विद्यार्थीलाई प्राथमिकता दिन्छौ,‘विद्यार्थीको शैक्षिक प्रतिस्पर्धाका लागि यो अवसर दिएका छौ, धेरै चिकित्सक र ईञ्जिनियर भएमा गाउँपालिकालाई नै फाईदा हो’ अध्यक्ष पुनले भन्नुभयो ।

उहाँले छात्रबृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीले पढाईपछि कम्तिमा पालिकामा रहेको अस्पतालमा सेवा दिनुपर्ने सहितका अन्य कार्यविधिहरु तयार गरिने बताउनुभयो । डाक्टर र ईञ्जिनियर पढ्न अधिक खर्च लाग्ने हुँदा गाउँपालिकाको पहिलो सुरुवात भएको अध्यक्ष पुनको भनाई छ ।

अध्यक्ष पुनले शिक्षा, स्वास्थ्य, उत्पादन र विकास निर्माणलाई प्राथमिकतामा राखेर पाँचबर्ष काम गर्ने बताउनुभयो। म्याग्दीमा चिकित्सक सहित ईन्जिनियरका लागि पालिकाले यसअगाडी सुविधा दिएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार