धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हामी निर्णायक शक्ति हौं भनेर देखाइदियौं : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ। बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभयो।

उहाँले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रूचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो। ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ। धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे। हामी निर्णायक शक्ति हौं भनेर हामीले स्थापित गरिदियौं’, उहाँले भन्नुभयो, ‘हाम्रो एजेण्डा देशमा स्थापित छ। त्यो एजेण्डा जनताले रूचाएको छ भन्ने कुरा पुष्टि भएको छ।’

नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले राम्रो हुन नसकेको बताउनुभयो। अपेक्षा यो भन्दा अझ राम्रो थियो। तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउनेमा हामी सकेनौं। नत्र यो भन्दा राम्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो।नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको दाबी गर्नुभयो।

‘अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको। त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन। पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन्। आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेण्डाहरु छन् । मुल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मुलत्ः सफल भएको छ,’ उहाँले भन्नुभयो।केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाई छ। गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो।

‘कतिपय ठाउँमा नहालेको पनि देखियो। तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ। यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो’, उहाँले भन्नुभयो, ‘यस अर्थमा यसको औचित्य अझै पनि छ। हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन। अहिले स्थानीय निर्वाचनमा मुलत्ः सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौं। केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन।’उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार