निस्कोटमा एमालेको चुनाव लक्षित कार्यक्रम

म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालिका गाउँपालिका कमिटीको आयोजनामा आज मङ्गलबार पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पालिकाको विभिन्न वडाअन्तर्गत निस्कोटमा चुनावी कार्यक्रम गरिएको हो ।

निस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका सचिवालय सदस्य खरमाया बिटालुले नेकपा एमालेको विजयलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो । उहाँले देश एमालेमय भएकाले आसन्न निर्वाचनबाट पनि एमालेकै नेतृत्व स्थापित हुने बताउँदै एमालेले सक्षम, कर्मठ, इमान्दार र क्षमतावान् व्यक्तिहरुलाई उठाएकाले आउँदो चुनावमा एमालकै उम्मेदवार विजय हासिल गर्ने ठोकुवा गर्नुभयो ।

सोही सभालाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्षका उम्मेदवार बेगप्रसाद गर्बुजाले मालिका गाउँपालिकालाई कायापलट गर्ने योजना आफू र एमाले पार्टीसँग मात्रै भएको बताउनुभयो । उहाँले गाउँपालिकालाई समृद्ध बनाउन शिक्षालाई सर्वसुलभ बनाई पालिकाभित्रै क्याम्पसको स्थापना गर्ने, सडकको स्तरोन्नति गरी बाह्रै महिना चल्न सक्ने बनाउने, घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने, कृषिको आधुनिकीकरण तथा जडिबुटीको प्रशोधन र बजारीकरण गरी पालिकाभित्रै रोजगारको अवसर सिर्जना गर्नेलगायत योजनाहरु सुनाउनुभयो ।


गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले महिला दिदीबहिनीहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम तथा गोष्ठी सञ्चालन गरी आयआर्जन र व्यवसायिकमूलक क्षेत्रमा आबद्ध गराई आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको बताउनुभयो । एमाले मालिका गाउँपालिका कमिटीका सचिव सन्तनाथ सुवेदीले गाउँपालिकालाई द्रुत रुपमा विकासको गतिमा अगाडि बढाउनका लागि एमालेको नेतृत्व आवश्यक रहेकाले सोहीअनुसार मतदाताहरुलाई एमालेको पक्षमा मतदान गरी एमाले उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले निस्कोटका वडा अध्यक्षका उम्मेदवार बुद्धी पुन, सदस्य पदका उम्मेदवाहरु टकबहादुर पुन, सुनमति विक र दसरी विकले आ–आफ्नो योजना सुनाउँदै मतदातासमक्ष भोट माग्नुभएको छ । एमाले निस्कोट वडा कमिटी अध्यक्ष यामबहादुर चोचाङ्गीको अध्यक्षता, सचिव झकमान पुनको सञ्चालन र वडा सदस्य उम्मेदवार हरि पुनको स्वागतमा सम्पन्न कार्यक्रममा समाजसेवी चक्रपाणी कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार