नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भयो : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको एक कार्यक्रममा गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको बताउनुभयो ।

उहाँले नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भएको बताउनुभयो । ‘हामीले ठुलो त्यागबाट गणतन्त्र ल्याएका थियौ । तर, त्यसको संस्थागत र संरक्षणमा काम गर्न सकेनौ ।’ उहाँले भन्नुभयो, ‘राज्यका नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भएको छ । यो दुःखद् हो ।’ मुख्यमन्त्री पाण्डेले गणतन्त्र स्थापनाका लागि जिउ ज्यान दाउमा राखेका कयौं व्यक्तिहरु अझै पनि अपाङ्ग र शरीरमा गोली बोकेर बाँच्न बाध्य हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

उनीहरुको सुरक्षा आज पनि आवश्यक रहेको उहाँले बताउनुभयो । विगतमा गणतन्त्र ल्याउन काम गरेका शक्तिहरु एक व्यक्तिको घमन्डका कारण विभाजित भएको उहाँको भनाई छ । सोही कारणले गर्दा स्पष्ट बहुमतसहितको सरकार लामोसमय टिक्न नसकेको उहाँले बताउनुभयो । गणतन्त्रको स्थायित्व र संविद्यानको लागि विचार मिल्ने शक्तिहरु एक ठाउँमा उभिएर सडक संघर्षबाट राज्य सत्ताको नेतृत्वमा आएको उहाँले बताउनुभयो । आगामी दिनमा गणतन्त्र र संविधानका रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो– ‘क्रान्तिपछि ३ वटा काम हुन्छ । पहिलो पुरानो संरचना बदलिन्छ । दोस्रो पुरानो संविधान च्यातिन्छ । तेस्रो भनेको राजनीतिक, आर्थिक सामाजिक अवस्थाको परिवर्तन हो । हामीले सबै काम गर्यौ तर आर्थिक सामाजिक अवस्था बदल्न सकेनौ ।’मुख्यमन्त्री पाण्डेले परिवर्तन पछि बनेका हरेक सरकारले जनतालाई विर्सने काम गरेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापना पश्चात बनेको सरकारहरुले जनताको आर्थिक सामाजिक अवस्थालाई परिवर्तन गर्न नसकेको बताउनुभयो । आगामी दिनमा सबैको ध्यान त्यसतर्फ पुग्नुपर्ने उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार