प्रचण्डको अभिव्यक्तिबारे रेनुको प्रष्टीकरण– धम्की होइन, सचेत गराउनुभएको हो

चितवन । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिनुभएको छ ।

आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो । त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’

२२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिनुभएको थियो। कतिपयले मतदातालाई धम्की दिएको भन्दै यसको आलोचना गरिरहेका छन् ।अहिलेको सत्ता गठबन्धन संविधान जोगाउने मर्मका साथ बनेको भन्दै त्यसमा दायाँ–बायाँ भए देश दुर्घटनामा जाने भनेर सचेत मात्रै गराएको रेनुको भनाइ छ ।

‘देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको ज्यादती र पटक–पटककको प्रतिगमन अनि हामीले यत्रो लडेर ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व थियो,’ उहाँको भनाइ छ, ‘यही मर्म अनुसार यो गठबन्धन भएको छ । दयाँ–बायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर उहाँले सचेत गराउनुभएको मात्रै हो । यो उहाँको एकदम सकरात्मक र राष्ट्रप्रेमपूर्ण भावनालाई अपव्याख्या गरेको कुरा मात्रै हो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार