प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्वीटरमार्फत् यसबारे जानकारी दिनुभएको छ । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेख्नुभएको छ । भेटको क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको पनि प्रधानमन्त्री देउवाले जनाउनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियालाई नेपाल भ्रमणका लागि पठाएको हो । जेठ ६ गते नेपाल आउनुभएको जिया ८ गतेसम्म नेपालमा रहनुहुनेछ । उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकको अवधिमा नेपालमा भएको अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमण हो ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउन जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण भएका छन् । यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो ।

वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभएको थियो । नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार