फतुवा बिजयपुरमा मतपत्र बढी भेटिएपछि मतगणना अवरुद्ध

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।

मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा‌ १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ । एमाले मेयरका उम्मेदवार बिजय यादव र समाजवादीका उमेदवार अरविन्द यादवले पुन निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका मेयर उम्मेदवार पदम कुमारी तिमल्सिनाले नेपाली काँग्रेसका मेयर उम्मेदवार गोपाल यादवको प्रभावमा परेर मतदान अधिकृत नारायण वाग्लेले उम्मेदवारहरुको बिना सहमति मतगणना गर्न खोजेको बताउनुभयो । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मानवीय त्रुटिले मत घटबढ हुनसक्ने भन्दै उम्मेदवारबीच सहमति गरेर गणना सुरु गर्नु पर्ने निर्वाचन ऐनमै ब्यवस्था भएको बताउनुभयो । बढी मत भेटिएपछि फतुवा बिजयपुर मतगणनास्थल तनावग्रस्त भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार