बेनी नगरपालिकामा आइतबार पनि विद्यालय खुल्ने

बेनी । बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको हो।

नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, विद्यालयका प्रधानाध्यापक सहितको जनप्रतिनिधिको उपस्थितिमा भएको बैठकले चाडपर्व सहित अन्य शैक्षिक विदाका कारण पठनपाठन प्रभावित भइरहेको अवस्थामा हप्तामा दुई दिन बन्दले थप समस्या उत्पन्न हुने भएकाले विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो ।

बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जेठ पहिलो सातादेखि हप्तामा दुई दिन बिदा दिने निर्णयलाई सामुदायिक विद्यालयको हकमा कार्यान्वयन नगर्ने निर्णय भएको बताउनुभयो ।‘सरोकारवाला निकायको निर्णय अनुसार अब नियमित पठनपाठन हुन्छ,‘जनप्रतिनिधि र सरोकारवालाको सहमतिले कार्यान्वयनमा सहज हुन्छ’ ढकालले भन्नुभयो । बेनी नगरभित्रका कतिपय विद्यालय बन्द र केही खुलेपछि अभिभावक पनि अन्योलमा परेको थियो ।

शैक्षिक सत्र ढिला सुरु भएको र विगतमा कोभिडका कारण विद्यार्थीको सिकाइ कम भएकाले आइतबार पनि विद्यालय सञ्चालनमा जोड दिएको बेनपा–१,रत्नेचौरस्थित भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । जिल्ला अन्य स्थानीय तहले समेत परीक्षणको रुपमा रहेको दुईदिने विदाबाट शैक्षिक क्षेत्रमा असर गरेकाले आइतबार नियमित पठनपाठन गर्ने तयारी गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार