भरतपुरको उपमेयरमा ५ हजार मतले पछाडि परेकी हिमला भन्छिन्- सास रहुन्जेल आश त भइहाल्छ

काठमाडौँ । मतगणना सुरू भएको पाँचौ रातको १० बजेतिर ६८ वर्षे हिमला गुरूङ गणनास्थल बाहिर एक्लै बसिरहनुभएको थियो। हातमा लिएको रुमालले निधारको पसिना पुछ्दै आकासतिर हेर्दै हुनुहुन्थ्यो । झट्ट हेर्दा लाग्थ्यो उहाँलाई ठूलै समस्या भइरहेको छ।

हिमला यसपालि भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी उहाँलाई उपमेयरको उम्मेदवार बनाएको हो।भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाले तालमेल गरेका छन्। राप्रपाले एमालेले उठाएको मेयरका उम्मेदवारलाई र एमालेले राप्रपाले उठाएका उपमेयरलाई भोट हालेर सघाउने सहमति थियो।

तर अहिले आइरहेको भोटको ट्रेन्डले तालमेल सफल भएको देखिँदैन। महानगरका ६ वटा वडाको मतगणना सकिँदा उहाँले एमालेले उठाएको मेयरका उम्मेदवार विजय सुवेदीले भन्दा पन्ध्र सय कम भोट ल्याएउनुभएको छ । गठबन्धनले उठाएको उपमेयरका उम्मेदवारभन्दा उहाँ झन्डै पाँच हजार बढी भोटले पछाडि हुनुहुन्छ । तैपनि हिमलाको आशा मरेको छैन।‘भनिन्छ नि श्वास रहेसम्म आश रहन्छ। मैले आशा मारेको छैन,’ उहाँले भन्नुभयो, ‘मेरो पनि पालो आउला बिस्तारै।’

उनीसँग पश्चिम चितवनको आफ्नो वडामा पुगेपछि प्रतिष्पर्धीलाई पछि पार्ने विश्वास कायमै छ। उहाँ भरतपुर–१९ शारदानगरकी हुनुहुन्छ। उहाँको परिवार यहाँ बस्न थालेको करिब ७ दशक भयो। उनका बाबु शारदानगर गाउँ पञ्चायतमा १५ वर्षसम्म प्रधानपञ्च हुनुभएको थिया । तर उहाँका काकाहरू भने कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसमा रहेका हिमलाका माइला काका इमानसिंह गुरूङ २०१८ सालमा सहिद हुनुभएको थियो । चितवनमा कांग्रेसको बीउ रोप्ने बखानसिंह गुरूङ हिमलाका बाजे पर्नुहुन्छ।

परिवारका धेरै सदस्य कांग्रेसको राजनीतिमा लागे पनि हिमलाको राजनीतिक जीवन भने पञ्चायत र राप्रपामै बित्यो। काठमाडौं पढ्न बस्ने क्रममा २०२८ सालमा राप्रपाको महिला संगठनको सदस्यता लिनुभएकी उहाँ त्यसयता निरन्तर राप्रपाको राजनीतिमा हुनुहुन्छ । पञ्चायतको अन्त्यपछि २०४८ सालमा भएको निर्वाचनमा उहाँ चितवनमा राप्रपाको तर्फबाट सांसदको उम्मेदवार बन्नुभएको थियो। तर भर्खरै बहुदल आएको समयमा उहाँको राम्रो भोट आएन।

‘तर मलाई मान्छेहरु अहिलेका भन्दा त्यतिखेरकै ठीक थिए जस्तो लाग्छ। त्यतिखेर त भोट दिन मन नलागेकाले सिधै दिन सक्दिन भन्थे। तर अहिले कसैले दिन्न भन्दैन,’ उहाँ भन्नुहुन्छ, ‘भोट माग्दा सबैले भइहाल्छ, दिइहाल्छु भन्छन् तर बक्स खोलेर हेर्दा भोटै आउँदैन।’उहाँले एमालेसँग तालमेल गरिए पनि दुबैतर्फ सोचेजस्तो नतिजा नआइरहेको बताउनुभयो।

‘तालमेल त गरियो तर कार्यकर्ताको हात समातेर भोट हाल्नी कुरा भएन, केमा भोट हाल्ने भन्ने उनीहरुको इच्छाको कुरा हो,’ हिमला भन्नुहुन्छ, ‘जस्तो नतिजा आएपनि स्वीकार गर्नुको विकल्प के छ र।’उहाँले वडा नम्बर १, २ र ३ मा राप्रपाको खासै प्रभाव नरहेको बताउनुभयो। ४ नम्बरमा प्रभाव केही रहेपनि तालमेलको मर्मअनुरुप दुबै पार्टीका उम्मेदवारले भोट नपाएको उहाँले बताउनुभयो।

उपमेयरकी उम्मेदवार हिमला गुरूङले आफ्नो वडा नम्बर १९ का अलावा १७, १८, २३, २७, २८ नम्बर वडाहरुमा आफूलाई राम्रो भोट आउने बताइन्।मेरो ठाउँ त आएकै छैन,’ उहाँले भन्नुभयो, ‘तैपनी कति भोट आउँछ भनेर कौतुहलता हुने रहेछ। घरमा बस्न मनै लाग्दैन। यहीँ आइहालौं जस्तो हुन्छ।’ उहाँ विहान पाँच बजेअघि नै गणना स्थलमा आइपुग्छिन्, राति ११ बजेसम्म बसेर फर्कनुहुन्छ । घर पुगेर १२ बजे सुत्छिन् तर ३ नबज्दै निद्रा खुलिहाल्छ।

‘परिवारका अरुले सुत्न नछोड, समयमा खाना खानुपर्छ भन्छन् तर मलाई यी कुनै कुरामा रूची छैन। बेचैनी बढेको छ,’ उहाँ भन्नुहुन्छ, ‘यहाँ भोट गनिँदैछ घरमा सुत्न कसरी सकिन्छ र१’उनले मतपरिणाम नआउँदासम्म जितिन्छ कि भन्ने आश कायमै रहने बताउँदै भन्नुभयो–‘जित्न सकिएन भने पनि केही छैन। समाजसेवा गर्नु मेरो लक्ष्य हो, त्यो त म हारें भने पनि गरिहाल्छु।’ सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार