मिटरब्याजीलाई जेल पुर्‍याउने माओवादी नेतालाई जनताको उपहार : बने हरिवनको मेयर

काठमाडौँ । सर्लाहीका दुर्नाम साहुकार श्याम परदेशी (श्यामकृष्ण साह कलवार) विरुद्ध उभिएका नेकपा माओवादी केन्द्रका नेता कमल (रमेश) बुढाथोकीलाई नगरवासीले मेयरका रुपमा चुनेका छन् । सर्लाहीका २९९ जनालाई १२० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गरेका परदेशीविरुद्ध आन्दोलनमा उत्रिनुभएका नेता बुढाथोकी सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो ।

परदेशी हाल जेलमै छन् । उनलाई जेल पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता बुढाथोकी हरिवन नगरपालिका मेयरमा निर्वाचित हुनुभएको हो । ‘मिटरब्याजी श्याम परदेशीविरुद्ध सर्लाहीदेखि काठमाडौंसम्म आन्दोलनमा उत्रिएँ । मलाई मुद्दा छोड, करोडौं रुपैयाँ दिन्छौं भनेर अफर पनि गर्नुभयो । पैसामा गरिव जनताको आन्दोलन बेचिनँ,’ बुढाथोकीले भन्नुभयो, ‘बरु खाई नखाई अधिकार प्राप्तिको आन्दोलनमा लागेँ ।’

देशमा मूल्यको राजनीति रहेछ भन्ने महसुस भएको पनि उहाँले बताउनुभयो । श्याम परदेशीले चर्को ब्याजमा पैसा लगाएर शोषण गरेको भन्दै प्रहरीले २०७६ असोज १० गते उनलाई पक्राउ गरेको थियो । बुढाथोकी लामो समय तत्कालीन एकता केन्द्रमा रहेर राजनीतिमा सक्रिय हुनुभयो । माओवादीसँग २०६५ सालमा एकता गरेपछि हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । यसअघि एमालेका गणेशप्रसाद प्रसाईसँग झिनो मत अन्तरले उहाँ पराजित हुनुभएको थियो ।

अहिले उनै प्रसाईसँग प्रतिस्पर्धा गरेर उहाँ मेयरमा विजयी हुनुभएको छ । रोचक त के छ भने माओवादीले हरिवनमा नगरपालिकामा वडा सदस्यसमेत जितेको छैन । उपाध्यक्ष सहित ११ वटै वडामा माओवादी केन्द्र शून्य छ । तर, मेयरमा भने बुढाथोकीकै लोकप्रियताले माओवादी केन्द्रले जितेको छ । कतिपय मतदाताले यसअघिको निर्वाचनमा मेयरमा मत नहालेको भन्दै उहाँसँग माफीसमेत मागेका थिए । उल्टै चुनाव प्रचार प्रसारका बेला बुढाथोकीलाई घोडामा चढाएर विजयको शुभकामना दिनुभयो ।

बुढाथोकी ७ हजार २ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उहाँका निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईले ६ हजार ८४९ मत ल्याउनुभयो । नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामप्रसाद मैनालीले २ हजार ९३६ मत र एकीकृत समाजवादीका सुरेन्द्र लामाले ३ हजार ८३६ मत ल्याउनुभएको छ । उपमेयरमा भने एमालेकी हरिमाया घलान ६ हजार ८५५ मत ल्याएर विजयी हुनुभएको छ । माओवादीकी पद्मा मोक्तानले ५ हजार ३२१ मत, काँग्रेसकी सोनीकुमारी बम्जोनले ४ हजार ९९१ मत, एकीकृत समाजवादीकी सीतादेवी थापाले २ हजार ९५६ मत ल्याउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार