मुगुमा नयाँ जनप्रतिनिधिलाई शुक्रबार सपथ गराइने

मुगु । जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ । चारवटै स्थानीय तहको नतिजा सार्वजनिक भएपछि सबै जनप्रतिनिधिलाई शुक्रबार सपथ ग्रहण गराइने मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

शुक्रबार जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिकाका मेयर, मुगम कार्मारोङ गाउँपलिकाका अध्यक्ष, खत्याड गाउँपालिकाका अध्यक्ष र सोरु गाउँपलिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायाधीश पुण्य प्रसाद सापकोटाले सपथ ग्रहण गराउनुहुनेछ । उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनुहुनेछ ।

निर्वाचित जनप्रतिनिधिलाई बिहीबार नै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका ४ वटा स्थानीय तहका ४५ वडामा २३३ जना नयाँ जनप्रतिनिधि निर्वाचितहुनुभएको छ । जसमध्ये छायानाथ रारा नगरपालिकाको मेयर, उप–मेयर, १४ वडा अध्यक्ष र सदस्यहरु गरी ७२ जना, खत्याड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित हुनुभएको छ ।

त्यस्तै सोरु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ र मुगम कार्मारोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ९ वडाध्यक्ष र सदस्य गरी ४७ जना जनप्रतिनिधि निर्वाचितहुनुभएको छ । बिहीबार नै कार्यपालिका सदस्यहरुको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार