मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : पोखरेल

रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न दोस्रो बैठकमा उहाँले भविष्यलाई सुनिश्चितता प्रदान गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नतर्फ दलहरुको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।

‘आज मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेभन्दा गठबन्धनका माध्यमबाट सत्ता प्राप्त गर्ने कुरातर्फ अगाडि बढ्ने प्रयास भइरहेको छ यो नेपालको राष्ट्रिय राजनीतिका सन्दर्भमा दुःखद् पक्ष हो,’ उहाँले भन्नुभयो । बलियो राष्ट्रिय शक्तिबिना राष्ट्रको निर्माण हुन नसक्ने उहाँले बताउनुभयो । जनताको जीवनमा परिवर्तन ल्याउने र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने राष्ट्रिय शक्तिको आवश्यकता भएकाले दलहरु यसमा गम्भीर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

‘प्रदेशलाई संघीयताको महत्वपूर्ण आधारका रुपमा लिइएको छ,’उहाँले भन्नुभयो । विगतको संसदीय अभ्यासअनुरुप यसअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भए पनि बजेटमा समावेश नगराइनुले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर देखिएकाले यस प्रकारको अभ्यास गलत भएको पोखरेलले टिप्पणी गर्नुभयो ।

अघिल्लो सरकारले झन्डै ८० पुल निर्माणका लागि क्रमागत आयोजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले रकम अभावमा ती योजना पूरा हुन नसकेको गुनासो गर्नुभयो । प्रदेशको स्थायी राजधानी तय भए पनि गुरुयोजना निर्माण र राजधानीको पूर्वाधार निर्माणका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै उहाँले सभामुखमार्फत् प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध खुला गरेपछि लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत दोस्रो बैठकले आज पूर्णता पाएको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेटको तयारीलगायत महत्वपूर्ण विषयमा बैठकमा छलफल गर्नुपर्ने भएकाले अवरोध नगर्ने एमालेले जनाएको छ । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार