दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान

म्याग्दी । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानाेसरेमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिनुभयो ।

उहाँका अनुसार , यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको बताउनुभयो । प्रहरीको टोली दुर्घटना स्थलतर्फ लागेको छ ।आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाउनुभएको थियो। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। तस्बिर : सुशील बाबु थकाली अनुरागी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार