मेयर नजित्दै अर्थमन्त्रीसँग बजेट मागेर फर्किए धनराज !

पोखरा । नयाँ जनप्रतिनिधिको अहिले पोखरामा मतगणना जारी छ । मत गणनाको ११ औं दिनसम्म आइपुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ । १ लाख ३९ हजार मत गणना हुँदा आचार्य ५ हजार ४८५ र उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडि हुनुहुन्छ ।

अब मत गणना गर्न ३ हजार ८१५ मतमात्रै बाँकी छ । निर्वाचनको अन्तिम मत परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीका आचार्य शनिबार काठमाडौं पुगेर फर्किनुभएको छ । प्रमुख पदमा जित्ने पक्का भएपछि आचार्यले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर पोखराका लागि बजेट मागेर फर्किनुभएको हो।आचार्यले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ल्यान्डफिल्ड साइट सार्नका लागि आवश्यक बजेट माग गरेर फर्किएको बताउनुभएको छ ।

नयाँ ल्यान्डफिल्ड बनाउन पोखरासँग आवश्यक बजेट नभएको र त्यसका लागि संघ सरकारको सहयोग अनुरोध गरिएको उनले मंगलबार पत्रकारसँग कुरा गर्दै जानकारी दिनुभयो। ‘जितको कुरामा पहिल्यैदेखि पक्का थिएँ । अब, बजेट आउँदै छ । त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ आचार्यले भन्नुभयो, ‘चुनौती बनेको ल्यान्डफिल साइट यहि बजेटमा समेटिएन भने फेरि ६ महिनामा सकिने काम एक वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहन्नँ ।’

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले ९८ प्रतिशत काम सकिएको छ । तर, भौतिक निर्माण काम सकिने अवस्थामा पुग्दा पनि ल्यान्डफिल साइट, रिठ्ठेपानी डाँडा कटान, इन्धन डिपो, भलबाढी लगायत समस्या समाधान हुन सकेको छैन । निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्यान्डफिल्ड साइटका कारण उडानलाई प्रत्यक्ष प्रभाव पार्ने आयोजनाले चेतावनी दिँदै आएको छ । ल्यान्डफिल्ड साइटमा बासस्थान बनाएका चराका कारण ‘बर्ड हाजार्ड’ हुन सक्ने आयोजनाको भनाइ छ ।

विमानस्थल निर्माण सुरु गरेदेखि नै उक्त ल्यान्डफिल साइट सार्न महानगरलाई पटकपटक अनुरोध गर्दै आएको थियो । तर, उक्त समस्या समाधान गर्न नसक्दा महानगरको टाउको दुखाइ बन्दै आइरहेको छ । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकालमा पोखरा वडा नम्बर १६ र २० बीचमा रहेको पस्मराङमा ल्यान्डफिल साइड सार्ने तयारी गरिएको थियो । तर, स्थानीयको तीव्र आलोचना पछि महानगर पछि हट्न बाध्य भयो । महानगरका जनप्रतिनिधिको कार्यकाल सकियो तर, पोखरा महानगरले नयाँ ल्यान्डफिल पाउन सकेन । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार