म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो (फोटो फिचर)

म्याग्दी ।‘समृद्ध श्रमजीवी वर्ग, सामाजिक तथा सिर्जनशील जीवन’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले श्रमिकको दुःख र पीडा बुझ्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो । उहाँले श्रमजीवी, मजदुरसहित राष्ट्रिय पुँजीपतिको प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले भएको बताउँदै पुँजीपति, दलाल, नोकरशाही र सामन्तको प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेस भएको आरोप लगाउनुभयो ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले नेपालमा बनेका सरकारहरुमध्ये एमाले नेतृत्वको सरकारले मात्र मजदुरहरुको पक्षमा काम गरेको दावी गर्नुभयो । उहाँले मजदुर, किसानको पक्षमा थुप्रै कामहरु गरिएको बताउँदै यसअघि २०७४ सालमा केपी ओली नेतृत्वको सरकारले सबैलाई लक्षित गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताउनुभयो । नेपालमा अब कम्युनिष्ट पार्टी एमाले मात्रै रहेको भन्दै उहाँले रुख चिह्नमा भोट हाल्ने माओवादी र मसाल भाइ कांग्रेस बनेको ठोकुवा गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका सचिव बलादेवी राईले मजदुरहरुको हकहित र सम्मानका लागि स्थानीय सरकारले श्रम डेक्सको स्थापना तथा मजदुरको पञ्जीकरण गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो । उहाँले निर्माणलगायत सबै क्षेत्रमा क्रियाशील श्रमजीवी मजदुरहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताउँदै आफ्नो हक, अधिकार प्राप्त गर्नका लागि सबै मजदुरहरु सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सदस्य एवं म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यले मजदुरहरुको हकहित र पेशागत सुरक्षाको लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । क्युपेक नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खत्रीले मजदुरहरुकै आन्दोलनबाट ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामलगायत मागहरुको सम्बोधन भएको बताउनुभयो ।

कार्यक्रम जिफन्ट बेनी नगर कमिटी अध्यक्ष राजकुमार राईको अध्यक्षता, सचिव अर्जुन रानाको सञ्चालन र क्युपेक नेपाल जिल्ला अध्यक्ष महाप्रसाद लामिछानेको स्वागतमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व मजदुरहरुले सदरमुकाम बेनीमा नौमती बाजासहित बजारमा प्रभातफेरि ¥याली निकालेका थिए ।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ ।

नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । २००७ को राणाशासनविरुद्ध, २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन् ।

संविधानमा मौलिक हकको रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चितता कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार