म्याग्दीमा ७ दशमलव ५७ प्रतिशत मत बदर

म्याग्दी । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८५ हजार ३७५ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो। विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि ११ प्रतिशतसम्म मत पूर्णरुपमा बदर भएको थियो । मतदाता शिक्षा र अनुभवका कारणले यसपालिको चुनावमा अघिल्लो भन्दा बदर मतको दर घटेको जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाइ छ ।

छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष/तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । काँग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेका छन् ।

नेकपा माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एकमात्र स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । म्याग्दीका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकिएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् । निर्वाचित जनप्रतिनिधिको मतदानबाट चुनिने कार्यपालिका सदस्यको चुनाव प्रक्रिया थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार