यौनहिंसाका आरोपितलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको थियो ।

त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भन्नुभयो, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’ नेपाली कांग्रेसका सांसद थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभएको थियो । उहाँले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने पनि बताउनुभएको थियोे ।

उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरि श्रीमती र दुईवटा साना-साना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो‚ जसमा ८ वर्षअगाडि आफूलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुखमार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहान्छु ।’

सांसद थापाले फौजदारी संहिताको हदम्यादको व्यवस्था फेर्न पनि माग गर्नुभयो । ‘यही संसद्‌बाट बनाएको बलात्कारसम्बन्धी कानुन हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयको सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु,’ उहाँले भन्नुभयो । एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरूको संलग्नता देखाएकी थिइन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार