राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ ।  गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको हो ।

राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । राप्रपाविरुद्ध कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । अध्यक्ष लिङ्देनले भने आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहोर्‍याउने दाबी गर्नुभयो । चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताउनुभयो ।

भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै उहाँले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिनुभयो । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौं, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं,’ उहाँले भन्नुभयो, ‘राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार