लुम्बिनी सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा ४ जनामात्रै मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको १५ औं गणतन्त्र दिवस समारोहमा प्रदेशका सरकारका बहुसंख्यक मन्त्री तथा सांसदहरू नै अनुपस्थिति रहेका छन्। पुर्वनिर्धारित कार्यक्रम अनुसार सरकारले आठ बजे प्रभातफेरीसहित सिद्धेश्वरी खेलमैदानमा विशेष समारोह आयोजना गरेको थियो।

शनिबार रातिदेखि नै परेको वर्षाको बावजुद प्रभातफेरी तथा विशेष समारोहमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेता पनि प्रदेशका मन्त्रीहरू तथा सांसदहरू भने गणतन्त्र दिवस मनाउन आएनन्। गणतन्त्र दिवस मूल आयोजक समितिले मन्त्रीहरूलाई समेत मञ्चमा आसनग्रहणको लागि कुर्सीको व्यवस्था गरेको थियो। तर कार्यक्रम अवधिभर मञ्चमा राखिएका धेरैजसो कुर्सीहरू खाली नै रहे।

लुम्बिनी प्रदेश सरकारमा अहिले १७ जनाको जम्बो मन्त्रीमण्डल छ। तर कार्यक्रममा भने मुख्यमन्त्री कुलप्रसाद केसीसहित चार जना मन्त्री, सभामुख र उपसभामुख मात्रै सहभागी हुनुभयो। विगतका वर्षहरूमा जस्तै यसपटक पनि गणतन्त्र दिवस समारोहमा प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख अतिथि आमन्त्रण गरिएको थियो। तर प्रदेश प्रमुख शेरचन अचानक बिरामी परेपछि कार्यक्रमको अध्यक्षता र प्रमुख अतिथिको आसनग्रहण स्वयं मुख्यमन्त्री केसी आफैँले गउनुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री केसीसहित आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्मा, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खां सहभागी थिए। त्यस्तै प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारू सहित ८० जना प्रदेशसभा सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै उपस्थित थिए।

सरकार आफैंले आयोजना गरेको कार्यक्रममा सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूको अनुपस्थिति रहँदा भर्खरै मात्र निर्वाचित भएका रूपन्देहीका अधिकांश नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरू भने सहभागी भएका थिए। प्रदेश सरकार आफैंले आयोजना गरेको गणतन्त्र दिवसमा समेत मन्त्री र सांसदहरू उपस्थित नभएपछि कार्यक्रमका सहभागीहरूले कार्यक्रम खल्लो देखिएको प्रतिकृया दिएका छन्।

सरकारका मन्त्रीहरूकै उपस्थितिमा मुख्यमन्त्री कार्यालयमा छलफल गरी गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरिएको थियो। सोहि अनुसार कार्यक्रमको मूल समारोह व्यवस्थापन गरेको आन्तरिक मामिला तथा संचार मन्त्रालयले सबै मन्त्रीहरूलाई निमन्त्रणा पनि गरेको थियो। कार्यक्रममा अनुपस्थित रहेका मन्त्रीहरू अधिकांशले बिहान पानी परेको र स्वास्थ्यमा समस्या देखिएकोले उपस्थित नभएको प्रतिकृया दिएका छन्।

स्वास्थ्य मन्त्री ईन्द्रजित थारूले बिरामी भएकोले सहभागी नभएको बताएका छन् भने मन्त्री सुष्मा यादवले पनि पानी परेको र सन्चो नभएको भन्दै कार्यक्रममा नआएको बताउनुभएको छ । मन्त्री पुर्मती ढेंगाले थकाइ लागेकोले कार्यक्रममा नआई आराम गरी बसेको बताउनुभयो । उद्योगमन्त्री अजयबहादुर शाहस्ले मुख्यमन्त्रीलाई जानकारी गराएर अनुपस्थित भएको बताउनुभयो भने आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले आफू काठमाडौंमा रहेको प्रतिकृया दिनुभयो।

त्यस्तै मन्त्री शुरेन्द्र हमालले बाँकेमा भएको तथा स्वास्थ्यमा पनि समस्या भएकोले सहभागी नभएको बताउनुभएको छ । बिरबहादुर रानाले त्यस्तै परिस्थिति भएर सहभागी हुन नसकेको बताउनुभयो । मन्त्रीहरू बिमला वली, डिल्ली चौधरी, रिना नेपाल बिक, सुमन शर्मा रायमाझी, अर्जुन कुमार श्रेष्ठ र सहसराम यादवले भने फोन उठाएनन्।

आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले अझैपनि मन्त्रीहरूले समेत गणतन्त्रको महत्व बुझ्न नसकेको बताउनुभयो । उहाँले मानिहरूको स्वभाव र आनिबानीलाई परिवर्तन गर्न नसकिने भन्दै सर्वसाधारणले महत्व दिने गणतन्त्र दिवसलाई सरकारका मन्त्रीहरूले नै बेवास्ता गर्दा आफूलाई पनि खल्लो लागेको बताउनुभयो ।

‘राज्यले मनाउने यस्ता दिवसहरूमा सरकारका मन्त्रीहरू सहभागी हुनुपर्थ्यो, तर हामीले अझैपनि गणतन्त्रको महत्वबारे बुझाउन सकेका रहेनछौं, उहाँले भन्नुभयो , ‘सर्वसाधारण छाता ओढेर उपस्थित हुँदा साधनश्रोत भएका मन्त्रीहरू नै उपस्थित नहुँदा मलाई पनि खल्लो लागेको छ।’यसअघि गत असोज ३ गते संविधान दिवस समारोहमा पनि आन्तरिक मामिला मन्त्री बाहेक अन्य मन्त्रीहरू कार्यक्रममा सहभागी भएका थिएनन्। उद्योग मन्त्री अजय शाही कार्यक्रम सकिएपछि मात्रै कार्यक्रम स्थल पुग्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार