विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली

म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ ।

मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै गाविस ठानेर त्यस्तै असक्षम कार्यशैली भएकाहरुको हातमा नेतृत्व पुग्दा संघीयताले गति लिन र नागरिकले अपेक्षाकृत लाभ लिन नसकेका बताउनुभयो । ‘माओवादीले लडेर ल्याएको संघीय ब्यवस्था अनुसार बनेका पालिकाको नेतृत्वमा काँग्रेस र एमाले हुँदा कार्यान्वयनमा जटिलता देखिएको हो,’ उहाँले भन्नुभयो ‘देशभर माओवादीले नेतृत्व गरेको पालिका उत्कृष्ट भएका छन् ।

हामीलाई अवसर दिनुभयो भने मालिकालाई उत्कृष्ट बनाएर देखाउछौ ।’ जुग्जालीले अभिभावक गतिलो नहुदाँ भाडिएको घर जस्तै बनेको मालिका गाउँपालिकामा कर्मचारीलाई विश्वासमा लिएर नागरिकलाई छिटो, भ्रष्ट्राचार र विभेदरहित सेवा प्रवाह हुने वातावरण बनाउने बताउनुभयो । विज्ञहरुको सल्लाह सुझाव अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, डाडाँगाउँमा स्वास्थ्य चौकी स्थापना गर्ने, गरिवको पालिकाबाट स्वास्थ्य विमा गर्ने र दिर्घरोगीलाई औषधीको ब्यवस्था मिलाउने घोषणा गर्नुभयो ।

गाउँपालिका उपाध्यक्षका उमेद्वार गौरी सेञ्चुरीले ग्रामिण अर्थतन्त्रको आधार कृषि उपजको बजार सुनश्चितताका लागि संकलन केन्द्र खोल्ने, गाउँका बासिन्दाको आम्दानीको स्रोत बनाउने कार्यक्रम ल्याउने र सामाजिक रुपान्तरण गर्ने बताउनुभयो । वडा अध्यक्षका उमेद्वार मोतीप्रसाद बुढाथोकीले गाउँपालिकाको केन्द्र देखि वडा र बस्ती जोड्ने सडकलाई बाह्रै महिना यातायात चल्ने बनाउने, विद्युतीकरणलाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने र स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसाय मार्फत आयआर्जन सुधारमा जोड दिने बताउनुभयो ।

वडा अध्यक्ष हेमबहादुर पुनले आफ्नो कार्यकालमा प्रतिवद्धता जनाएका धेरै काम पुरा गरेको र बाँकी योजनाका लागि माओवादीका उमेद्वारलाई जिताउन आव्हान गर्नुभयो । सो कार्यक्रममा नेपाली काँग्रेसका वडा सचिव नंगप्रसाद पटेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । माओवादीले मालिकाको सात वटै वडामा चुनावी सभा, घरदैलो र मतदाता भेटघाट गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा आइतबार सभा आयोजना गरिएको माओवादीका मालिका गाउँपालिका अध्यक्ष दोरण शेरचनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार