वीरगञ्ज महानगरको मेयरमा सिंह विजयी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । आफ्ना निकटतम् प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेस प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कुल २५ हजार १५८ मतसहित विजयी भइन् भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गर्नुभयो । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार