संघ र प्रदेशको निर्वाचसम्म सत्तारुढ गठबन्धन कायमै रहन्छ : काँग्रेस सचेतक भुसाल

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसद बैठकबाट बाहिरिँदै गर्दा सचेतक भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो ।

पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उहाँको भनाइ छ । उहाँले स्थानीय तह निर्वाचनमा काँग्रेसको अग्रताले काँग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताउनुभयो । उहाँले काँग्रेसको काँधमा जिम्मेवारी थपिएको बताउनुभयो। सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताउनुभयो ।

पार्टीभित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उहाँको भनाइ छ ।महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो ।

तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ यसबाट भोलिको दिनमा पार्टीले उम्मेदवारी दिँदै गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ । यो परिणामलाई हेरेर निष्कर्ष निकाल्नुपर्ने त छैन, किनभने अझै धेरै परिणाम आउन बाँकी छ ।’ उहाँले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरीलाई दोहोरिन नदिने पनि बताउनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार