सत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, अहंकारी र भ्रष्ट आचरण देखिनु दुःखद् : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ ।

१५औँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दुःखद् पक्ष भएको बताउनुभयो ।

“शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दुःखद् पक्ष हो । गत वर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधिसभालाई पटक–पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए,” नेपालद्वारा जारी सन्देशमा उल्लेख छ ।

गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्तिसहित न्यायपूर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्ने सहिदप्रति अध्यक्ष नेपालले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनभावनाको कदर गर्दै संविधानबाट निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार