समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो ।

उहाँले नेपाली समाज विचार र निष्‍ठाको आधारमा नचलेको बताउनुभयो । उहाँले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले चाहाना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिन दिनैको काम कारबाहीहरू चाहिँ हाम्रो भनाइसँग तालमेल भइराख्या छैन । कहीँ न कहीँ हाम्रो सिस्टमभित्र अहिले पनि थुप्रै खोटहरू छन् ।

जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडी जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझबढी बिचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ । बिचारको आधारमा होइन, कुनै निष्‍ठाको आधारमा होइन, कुनै एउटा महान उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई ।’

उहाँले भन्नुभयो, ‘त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भीरताको साथ लिन जरुरी छ । र हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रीत हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’उहाँले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार